द हिमाल वर्ल्ड
सिलगढी, 16 जनवरी 2025
सिलगढीमा एक व्यक्तिले आफ्नी पत्नी र छोराको हत्या गरी आत्महत्या गरेको आरोप उठेको छ। यो भयावह घटनाले सिलगढीमा सनसनी मच्चिएको छ। घटना बिहीबार बिहान सिलगढीको भक्तिनगर थाना क्षेत्रअन्तर्गत पर्ने समर नगर क्षेत्रमा भएको हो।
सिलगढीको भक्तिनगर पुलिसलाई एकजना व्यक्तिले आफ्नी श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको सूचना प्राप्त भएको थियो। पुलिसले घटनास्थलमा पुगेर हेर्दा श्रीमती र छोराको शवको छेउमा उक्त व्यक्तिको शव झुण्डिरहेको अवस्थामा थियो। भक्तिनगर थानाका आईसी र उच्च पदस्थ पुलिस अधिकारीहरू पनि घटनास्थलमा पुगेका थिए। पुलिसले तीनैजनाको शव उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाएको छ। पुलिसले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको सही कारण खुलस्त हुने बताएको छ। स्थानीय स्रोतका अनुसार समरनगर क्षेत्रको उक्त घरमा श्यामल राय उसकी पत्नी टुम्पा राय र छोरा पिन्टु राय बस्थे। स्थानीयहरूले बताएअनुसार राय परिवार ऋणमा डुबेको थियो भने यसलाई लिएर धेरै समयदेखि घरमा अशान्ति पनि छाइरहेको थियो। तर स्थानीयहरूले श्यामल रायले आफ्नी श्रीमती र छोराको हत्या किन गरेको हो भन्नेबारे आफूहरू अनभिज्ञ रहेको पनि बताइरहेछन्। धेरैले ऋणबाट मुक्त हुनलाई यो कदम उठाएको हुनसक्ने आशंका पनि व्यक्त गरिरहेका छन्। यद्यपि जाँचपछि मात्र घटनाको सही कारण पत्तो लाग्ने पुलिसको भनाइ छ। स्थानीयहरूले बताएअनुसार छोरा पिन्टु राय लगभग छ वर्षको थियो। पुलिसले यो घटना केवल पारिवारिक अशान्ति र ऋणको कारणले भएको हो वा अरु कुनै कारणले गर्दा भएको हो भन्ने बारे अनुसन्धान गरिरहेको बताइएको छ।
Leave a Comment